काठमाण्डाै । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको निजी सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको जानकारी गराएको छ।
पार्टीले गठन गरेको अध्ययन कार्यदलले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अध्यक्ष यादवलाई रायसुझावसहितको प्रतिवेदन बुझाएको निजि सचिव महेश चाैरसिया हस्ताक्षरीत बिज्ञप्तिमा जनाईएकाे छ । साथै, उक्त प्रतिवेदन अध्ययनका लागि माननीय सांसदहरूलाई उपलब्ध गराइएको छ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/02/IMG-20250206-WA0018-744x1024.jpg)
सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेश पेश नगरी कार्यसूचीबाट हटाइएको परिप्रेक्ष्यमा जसपा नेपालले आज कुनै औपचारिक निर्णय नगर्ने स्पष्ट पारेको छ। साथै, उक्त प्रतिवेदनलाई थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमार्फत देश र राष्ट्रहित अनुकूल ठोस निर्णय लिइने जनाइएको छ।
यसै सन्दर्भमा, विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरूमा जसपा नेपाललाई जोडेर आएको अतिरञ्जित, मनगढन्ते र प्रायोजित समाचारप्रति ध्यान नदिन आग्रह गरिएको छ। विज्ञप्तिमा यस्ता समाचारहरू आधारहीन, तथ्यहीन र भ्रामक रहेको उल्लेख गर्दै आमजनता, पार्टी कार्यकर्ता तथा संचारमाध्यमलाई सत्यतथ्यबिना कुनै भ्रममा नपर्न अनुरोध गरिएको छ।