सर्लाही, २३ माघ – पाठेघरको मुखको क्यान्सरविरुद्ध सर्लाहीका १० वटा पालिकामा एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरू भएको छ। पहिलो चरणमा लालबन्दी, ईश्वरपुर, हरिपूर्वा, मलङ्गवा, हरिपुर, कविलासी नगरपालिका तथा चन्द्रनगर, पर्सा, ब्रह्मपुरी र कौडेना गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिएको हो।
मलंगवाकाे पब्लिक माध्यमिक बिद्यालयमा HPV खाेपकाे शुभारम्भ कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका अध्यक्ष काैशल कुमार सिहंले
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी मानिएको एचपीभी खोपले भविष्यमा किशोरीहरूको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे ।
मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सर्लाहीमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका ५१ हजार ७२४ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको जानकारी गराउनुभयाे ।
जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाका अनुसार सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप प्रदान गरिँदैछ ।
एचपीभी भाइरस मुख्य रूपमा यौन सम्पर्कबाट सर्ने संक्रमण हो, जसले पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढाउँछ। नेपाल सरकारले किशोरीहरूलाई यो खतरनाक रोगबाट जोगाउन निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको हो।
स्वास्थ्यकर्मीहरूका अनुसार निर्धारित उमेर समूहका किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा अभिभावकलाई सजग गराइएको छ।