काठमाडौँ – सरकारले संसदमा पेस गरेको भूमिसम्बन्धी अध्यादेशबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्तरिक छलफल गरिरहेको छ। मंगलबार सिंहदरबारमा उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा सांसद, पूर्वसांसद तथा विज्ञहरूसँग बैठक बसेको छ।
जसपाका प्रमुख सचेतक रेखा यादवले अध्यादेशमा रहेका विवादास्पद विषयबारे छलफल भइरहेको बताइन्। संसदमा छलफल सुरु हुनु अघि नै पार्टीले आफ्नो धारणा स्पष्ट गर्न लागेको उनको भनाइ छ।
राष्ट्रिय सभामा निर्णायक मत रहेको जसपाले अध्यादेश पास गराउन सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने टुंगो लागेको छैन। सोमबार बसेको कार्यकारिणी समितिको बैठकले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो, जसले मंगलबार र बुधबार छलफल गरी प्रतिवेदन बुझाउनेछ।
सरकारले जथाभावी जग्गा वितरण गरी तराईमा बसाइसराइ गर्ने नियत राखेको जसपाको आशंका छ। सुकुमबासीले जग्गा नपाउने र हुनेखानेले मात्र लाभ उठाउने अवस्था सिर्जना भएको भन्दै जसपाले आपत्ति जनाएको छ।
भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सरकारको दाबी रहे पनि जसपा यसबारे अझै स्पष्ट छैन। अध्यक्ष उपेन्द्र यादवले कार्यदलको प्रतिवेदनपछि मात्र पार्टीले निर्णय गर्ने बताए।