काठमाडौं, माघ २२ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार साँझ सम्पन्न भएको छ। तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा सरकारले माघ २४ गते संसदमा प्रस्तुत गर्ने अध्यादेशको पक्ष वा विपक्षमा मतदान गर्ने विषयमा छलफल गरिएको थियो। पार्टी संसदीय दलको बैठक मंगलबार सिंहदरबारमा बस्ने र आवश्यक निर्णय गर्ने बताइएको छ।
बैठकले तीन प्रदेशका इन्चार्जहरू परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको छ। लुम्बिनी प्रदेशमा महासचिव
रामकुमार शर्मा , कर्णाली प्रदेश वीर बहादुर नेपाली र
सुदूरपश्चिम प्रदेश प्रेमचन्द्र झालाई ताेकिएकाेछ ।
बैठकले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा गर्दै यसलाई उत्साहजनक र प्रभावकारी भएको निष्कर्ष निकालेको छ। पार्टीले माघ मसान्तपछि अभियान स्थगित गरी आगामी वैशाखभित्र प्रदेश, जिल्ला र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिएको छ।
बैठकले केन्द्रीय सल्लाहकार समिति गठनको तयारीलाई अघि बढाएको छ। यसका लागि दुई दर्जन नेताहरूको नाम संकलन भइसकेको छ। थप छलफल गरी समितिको नेतृत्व र सदस्यहरू टुंगो लगाइने छ।
कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल भए पनि अन्तिम निर्णय गर्न थप गृहकार्य गर्ने निर्णय गरिएको छ। हालसम्म कार्यकारिणी समितिमा दश जना नयाँ सदस्यका लागि नाम प्रस्ताव आइसकेको छ। जसपा नेपालको कार्यकारिणी समिति हाल ३५ सदस्यीय रहेको छ।
बैठकले पार्टी संगठन सुदृढीकरण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै सम्पन्न भएको छ।
श्राेत : राताेपार्टी