विराटनगर/ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा मानव कंकालसहित एक जना व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपालले विराटनगर-१७ निवासी विनोद रायलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रायको साथबाट ३८ वटा मानव खप्पर (टाउकोको हड्डी) र १० वटा खुट्टाको नली हड्डी बरामद गरिएको छ। उनी ती कंकालहरू रिक्सामा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण, विराटनगरका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नियमित जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि पनि नेपाल-भारत सीमामा मानव हड्डी तस्करीका घटनाहरू सार्वजनिक भएका थिए। यस्ता हड्डीहरू विभिन्न तान्त्रिक अनुष्ठान, मेडिकल अध्ययन वा अन्य अवैध प्रयोगका लागि तस्करी हुने आशंका गरिएको छ।
सुरक्षा अधिकारीहरूले सीमामा निगरानी थप कडा पार्ने बताएका छन्।