सर्लाही, माघ १८ – गोडैता नगरपालिकाले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप साइकल वितरण गरेको छ। नगरपालिकाले शुक्रबार गोडैता–३, जनता माध्यमिक विद्यालय भगवतीपुरमा आयोजित कार्यक्रममा ९१ जना स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेको हो।
नगरप्रमुख देवेन्द्रकुमार यादवका अनुसार न्यून पारिश्रमिकमा समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वयंसेविकालाई सम्मानस्वरूप पहिलो पटक साइकल प्रदान गरिएको हो। साथै, नगरपालिका आफैंले सरकारद्वारा उपलब्ध गराइने मासिक १,००० रुपैयाँ पारिश्रमिकमा थप २,००० रुपैयाँ सहयोग गर्दै आएको छ।
साइकल हस्तान्तरण कार्यक्रममा उपप्रमुख अन्जना कुशवाहा, जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, तथा नगरपालिकाका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
स्वयंसेविकाहरूले नगरपालिकाले आफूहरूको सेवा र समर्पणको कदर गर्दै साइकल वितरण गरेकोमा खुशी व्यक्त गरेका छन्।
उत्तीर्ण विद्यार्थीहरूलाई नगद पुरस्कार
सोही अवसरमा गोडैता नगरपालिकाले एसईई परीक्षामा उच्चतम ग्रेड (३.६० GPA भन्दा माथि) प्राप्त गर्ने १० जना विद्यार्थीलाई जनही २५,००० रुपैयाँ नगदसहित सम्मान गरेको छ।
पुरस्कृत विद्यार्थीहरूमा वेणी भोला नमुना माध्यमिक विद्यालय (गोडैता–८) बाट आशुतोषकुमार झा,विशालकुमार झा,आलोककुमार कुशवाहा,अनु कुशवाहा सिंह,सुदीक्षा प्रजापति,आदित्यनारायण झा, निश्चल प्रतीक,पल्लवीकुमारी नारायणहरि माध्यमिक विद्यालय (गोडैता–१०, सिसौटिया) बाट सुशान्त यादव, सुस्मिताकुमारी यादव रहेका छन् । यि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न विभिन्न ठाउँमा गइसकेका कारण पुरस्कार रकम बैंक खातामार्फत जम्मा गरिएको तथा उनीहरूका अभिभावकलाई सम्मान गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोदकुमार यादव ले जानकारी दिए।
गोडैता नगरपालिकाले स्वास्थ्य र शिक्षामा लगानी गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।