हरिवन, माघ १३ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उप-प्रमुख लिला मोक्तानलाई सुनियोजित षडयन्त्र गरी झुठो वन मुद्दामा फसाइएको विरोधमा माओवादी केन्द्र सर्लाहीले आज हरिवनमा विशाल मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ।
पार्टीद्वारा पूर्वनिर्धारित आन्दोलनको घोषणा अनुरूप गरिएको प्रदर्शनमा सयौं कार्यकर्ता र समर्थकहरूको सहभागिता देखिएको थियो। मोटरसाइकल र्याली हरिवन बजारका प्रमुख स्थानहरू परिक्रमा गर्दै मुख्य चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/FB_IMG_1737912413098.jpg)
कोणसभामा बोल्दै माओवादी केन्द्रका स्थानीय नेताहरूले मेयर थापा र उप-प्रमुख मोक्तानमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै यो कदम राजनीतिक बदला लिन गरिएको षड्यन्त्र भएको आरोप लगाए। नेताहरूले जनप्रतिनिधिमाथि हुने यस प्रकारका झुठा मुद्दाहरूले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार हुने चेतावनी दिए।
कार्यक्रमका क्रममा माओवादी केन्द्रले सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई चेतावनी दिएको छ। यदि आरोप फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।
यस प्रदर्शनले सर्लाहीमा राजनीतिक माहोल तताएको छ। माओवादी केन्द्रका कार्यकर्ताहरूले न्यायको माग गर्दै आफ्नो संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।