काठमाडौं, माघ ७ – जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ १९ र २० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीले सञ्चालन गरिरहेको संगठन निर्माण अभियान र अन्य महत्त्वपूर्ण एजेण्डाहरूमा छलफल हुने बताइएको छ।
साथै, बैठकका लागि पार्टीका सबै पदाधिकारी र सदस्यहरूलाई आ-आफ्नो जिम्मेवारी र कार्यक्षेत्रमा भएका गतिविधिहरूको प्रगति विवरण लिखित रूपमा तयार गरेर अनिवार्य उपस्थित हुन निर्देशन गरिएको छ।
बैठकले पार्टी संगठन सुदृढीकरण र आगामी राजनीतिक योजनाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।