जनकपुरधाम, माघ ७ – जनकपुरधाममा दुई सरकारी गाडी एक आपसमा ठोक्किँदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्।
सोमबार राति करिब ९:३० बजे रामानन्द चोकमा मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको मन्त्री सिंह सवार गाडीलाई प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको थियो। ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषा प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्।
दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको धनुषा प्रहरीले जनाएको छ। दुर्घटनापछि मुख्यमन्त्री सतिश कुमार सिंह अस्पताल पुगेका थिए। उनले मन्त्री सिंहको स्वास्थ्य लाभको कामना गर्दै घटनाबारे आवश्यक छानबिन भइरहेको बताएका छन्।
घटनाको छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीका अनुसार थप विवरण र जिम्मेवारी निर्धारणका लागि अनुसन्धान जारी छ।