सर्लाही, माघ ७ – जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि “दुई मिनेट अभियान” अन्तर्गत सडक प्रयोगकर्ताहरूसँग सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। “जिन्दगी रह्यो भने यात्रा धेरै बाँकी छ, सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गरौं” भन्ने मूल नाराका साथ आयोजित यो अभियानले दुर्घटनाको सबैभन्दा बढी जोखिममा रहेका दुई पाङ्ग्रे सवारी साधनका चालकहरू र पैदल यात्रुहरूलाई लक्षित गरेको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका पोष्टहरूले एकसाथ सहभागी भएर सडकमा रहेका चालक र पैदल यात्रुहरूलाई ट्राफिक नियमको महत्वबारे जानकारी दिएका थिए। साथै, सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग, गति सीमा, जथाभावी बाटो काट्न नहुनेजस्ता विषयमा जनचेतना फैलाइएको थियो।
अभियानले स्थानीय सडक प्रयोगकर्तामा सकारात्मक प्रभाव पार्दै दुर्घटनाको जोखिम कम गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।
यो कार्यक्रमले समाजमा ट्राफिक नियमको पालना गर्ने संस्कार प्रवर्द्धन गर्न सहयोग पुग्ने जिल्ला ट्राफिक कार्यालयले जनाएकाेछ ।