सर्लाही, २०८१ माघ २/सर्लाही जिल्लाको कर्मैया स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा आज बिहान १०:०० बजे विशेष कार्यक्रम आयोजना गरी Traffic Violation Record System (TVRS) जडान गरी संचालनमा ल्याइएको छ। कार्यक्रमको उद्घाटन यस कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी पर्चा र पम्पलेट वितरण गरिनुका साथै, सडक प्रयोगको उचित तरिका, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उल्लंघन गरेमा लाग्ने जरिवाना तथा TVRS प्रणालीको महत्वबारे विस्तृत जानकारी दिइएको थियो।
Traffic Violation Record System (TVRS) को संचालनले ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरुको विवरण सुरक्षित राख्न, जरिवाना प्रक्रिया व्यवस्थित गर्न र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यस अवसरमा उपस्थित स्थानीयहरूले ट्राफिक प्रहरीद्वारा आयोजित सचेतनामूलक कार्यक्रमको प्रशंसा गर्दै ट्राफिक नियम पालना गर्न तत्परता जनाएका थिए।
प्रहरी निरीक्षक रजोश घिमिरेले यस्तो प्रणाली संचालनले ट्राफिक व्यवस्थापनलाई आधुनिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले ट्राफिक नियम पालना गर्दै सबैलाई सुरक्षित यात्रा गर्न आग्रह गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, सवारी चालक र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।