काठमाण्डाै, माघ २ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्र भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष यादवले कानुन व्यवसायीमाथि भएको हातपात अस्वीकार्य भएको भन्दै घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेका हुन्।
घटना राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको सुनुवाइका क्रममा घटेको थियो। सुनुवाइ भइरहेका बेला अदालत परिसरमा रहेका लामिछानेका समर्थकहरूले सहकारी पीडितका तर्फबाट वकालत गरिरहेका अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका थिए।
यस घटनाप्रति विभिन्न राजनीतिक दल र कानुन व्यवसायीले आपत्ति जनाएका छन्। कानुनी प्रक्रियाको सम्मान गर्नुपर्ने र हिंसात्मक गतिविधि रोक्न प्रशासनले तुरुन्त कदम चाल्नुपर्ने आवाज उठिरहेका छन्।
अध्यक्ष यादवले यस्तो घटना लोकतान्त्रिक मुलुकका लागि लज्जास्पद भएको भन्दै कानुनी शासनलाई बलियो बनाउन दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।