सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको सभाकक्षमा २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा चारैवटा सुरक्षा निकायका प्रमुखहरू, सहायक प्रमुख जिल्ला अधिकारीज्यू, वडाध्यक्षहरू, मानवअधिकार कर्मी, संघसंस्थाका प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीज्यूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। यस अवसरमा इञ्जिनियर संतोष सिंहज्यूले भूकम्पबाट जोगिने उपाय, भवन निर्माण मापदण्ड तथा प्रविधिका विषयमा स्लाइड प्रस्तुतीकरणमार्फत विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित भवन निर्माणका लागि जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको नगर प्रमुखज्यूले बताउनुभयो। सहभागीहरूले यस्तो कार्यक्रमले नागरिकहरूमा भूकम्पीय सुरक्षा सम्बन्धी ज्ञान फैलाउने र आवश्यक सतर्कता अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।