सर्लाही। जनता समाजवादी पार्टी, नेपाल (जसपा) को “आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत इश्वरपुर नगरपालिका समितिको विस्तारित बैठक सम्पन्न भएको छ।
बैठकमा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता, र क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले संगठनलाई सुदृढ बनाउने, स्थानीयस्तरका मुद्दाहरूलाई प्रभावकारी ढंगले उठान गर्ने, र अभियानलाई तीव्रता दिने विषयमा छलफल गरेको छ।
बैठकमा पार्टीको संगठन निर्माणको प्रक्रिया, सदस्यता विस्तार, र इश्वरपुर नगरपालिकाभित्रको राजनीतिक तथा सामाजिक मुद्दाहरूको समाधानका लागि रणनीति तय गरिएको छ।
बैठकले संगठन विस्तारलाई गति दिन प्रत्येक वडामा सक्रिय कार्य समिति गठन गर्ने, युवाहरू, महिलाहरू, र सामाजिक रुपमा पछाडि परेका वर्गलाई पार्टी संगठनमा अझ बढी सहभागी गराउने, स्थानीय समस्याहरूको पहिचान गरी त्यसको समाधानका लागि प्रभावकारी योजना बनाउने, आगामी महिना विशेष जनचेतना कार्यक्रम आयोजना गर्ने लगायतका निर्णयहरू गरेका थिए ।
बैठकमा जसपा नेताहरूले आधारभूत संगठन बलियो भए मात्र पार्टीको लक्ष्य प्राप्ति सम्भव हुने बताए। साथै, इश्वरपुरका स्थानीय मुद्दाहरूमा केन्द्रित भई जनताको विश्वास जित्न सबै कार्यकर्तालाई क्रियाशील बन्न आह्वान गरिएको छ।
यस अभियानमार्फत जसपाले स्थानीयस्तरमा आफ्नो उपस्थिति सुदृढ गर्दै नागरिकका समस्या समाधानमा विशेष ध्यान दिने प्रतिवद्धता जनाएको छ।