काठमाडौं। मधेशकेन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप बनेको संयुक्त कार्यदलको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएको छ। बैठक बिहान ११ बजे काठमाडौंको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा हुने तय गरिएको छ।
बैठकमा मधेशकेन्द्रित दलका नेताहरू सहभागी भई मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने, र साझा एजेन्डाबारे छलफल गर्ने योजना रहेको छ।
मधेशकेन्द्रित मुद्दाहरूमा एकता कायम गरी राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले गठित कार्यदलमा प्रमुख दलहरूको सहभागिता रहेको छ। बैठकमा विभिन्न दलका नेताहरूले मोर्चाको रणनीति र कार्ययोजनाबारे आफ्नो विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा)का रेणु यादव र ईस्तियाक राई,जसपा नेपालका राजकिशाेर यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनल र सुरेन्द्र झा,जनमत पार्टीका अब्दुल खान र शरद यादव,
जनप्रगतिशील पार्टीका शिवजी यादव,राष्ट्रिय मुक्ति पार्टीका केशव झा तथा तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेश चन्द लाल सहभागी हुने बताईएकाेछ ।
संयुक्त मोर्चा निर्माणको पहललाई थप गति दिन र साझा एजेन्डामाथि सहमति जुटाउन बैठकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मधेशको राजनीतिक, आर्थिक, र सामाजिक मुद्दाहरूलाई एकीकृत रूपमा उठान गर्न दलहरूबीचको सहकार्यले ठोस परिणाम दिन सक्ने विश्वास नेताहरूले व्यक्त गरेका छन्।