सर्लाहीकाे मलंगवामा आमसञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा आयोजित साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सप्तरीबाट सुरु भई सिरहा र धनुषा हुँदै सर्लाहीमा सम्पन्न भएको यो कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधि र साइबर सुरक्षा सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, प्रदेश सभा सदस्य जङ्गीलाल राय, प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनाेज यादव र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेकाे थियो ।
अभिमुखिकरण कार्यक्रममा मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुम लेखीले आफ्नो मन्तव्यमा पत्रकारिताको दिगो विकासका लागि प्रदेश सरकारले छिट्टै विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। उनले पत्रकारिता क्षेत्रमा प्रविधिमैत्री वातावरण सिर्जना गर्न यस्तो प्रकारको अभिमुखीकरण कार्यक्रमले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। साथै, उनले संघीयता कार्यान्वयन र प्रहरी समायोजन जस्ता चुनौतीका लागि संविधान संशोधनमा ठोस निर्णय आवश्यक रहेकोमा पनि जोड दिए।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका निमित्त प्रशासन प्रमुख प्रशन्न रञ्जन कर्णका अनुसार कार्यक्रममा करिब ५० जना पत्रकारहरूको सहभागिता रहेको थियो। प्रशिक्षकद्वय जीवन भण्डारी र सन्तोषकुमार चौधरीले साइबर सुरक्षा, डिजिटल उपकरणहरूको सही प्रयोग, र कृत्रिम बुद्धिमत्ताको भूमिकाबारे प्रशिक्षण प्रदान गरे।
कार्यक्रमको प्रमुख उद्देश्य पत्रकारहरूलाई डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि जागरूक बनाउनु, सूचना प्रविधिमा भएको नवीनताबारे जानकारी दिनु, र एआईका सम्भावनाहरूको प्रभावकारी प्रयोगबारे सचेत गराउनु रहेको आम सञ्चार प्राधिकरण मधेश प्रदेशका कार्यकारी अध्यक्ष श्यामसुन्दर यादवले जनाए।
यस अभिमुखीकरण कार्यक्रमले स्थानीय पत्रकारहरूलाई प्रविधिमैत्री र सुरक्षित रूपमा काम गर्न प्रेरित गरेको छ।