काठमाडौँको चन्द्रागिरी नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाकाअनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्र-०१-०२३ च ६९८५ नम्बरको कार आज दिउँसो दुर्घटना हुँदा काठमाडौँको मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ महेशकुमार गौतम, महेशकी छोरी ६ वर्षीया स्मारिका र छोरा चार वर्षका प्रियन्सको मृत्यु भएको हो । स्मारिकाको उपचारको क्रममा मृत्यु भएको हो । महेशकी श्रीमती सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चित्लाङ घुम्न जाने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौँडा-काठमाडौँ छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत भइरहेका कारण सडक बन्द छ ।