क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए । आइतबारबाट सुरु भएको बहसमा उक्त दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गर्नुभएको थियो । त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा हिजो जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे । हिजो अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका छन् । हिजो नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गर्नुभएको थियो । सापकोटाले आज पनि बहसलाई निरन्तरता दिनु हुनेछ । सापकोटापछि प्रतिवादीका तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ता रोशनी पौडेलले बहस गर्ने तयारी रहेको छ ।
Comments 1