२२ मंसिर , शुक्रबार ।
सरकारले उखुको मूल्य तोक्न ढिलाई गरिरहँदा किसानले सस्तैमा बेच्नुपर्ने बाध्यता रहेको छ । सर्लाहीका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाएकोले उखु सस्तोमा बेच्न बाध्य भएको छ ।
अहिले देशभर चिनीको अभाव मात्रै नभइ मूल्य पनि बढाइएको छ । उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योग चलाउने तयारी गरिएपछि किसानले यो वर्ष पनि उधारोमै बुझाउनुपर्ने बाध्यता आइपरेको हो । तराईका प्रत्येक चिनी उद्योग सञ्चालनको तयारीमा भए पनि सिजनका लागि उखुको मूल्य अझै तोकिएको छैन ।
आइतवार उखुको मूल्य तय गर्न कृषि मन्त्रालयमा वार्ता भए पनि सहमति नभएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
गत वर्ष उद्योगीले ५ सय ४० रुपैयाँ र सरकारले प्रदान गर्ने ७० रुपैयाँ गरी उखुको मूल्य ६ सय १० कायम भएको थियो । सर्लाही जिल्लाका उखु किसानले गएको वर्षकै उखुको सरकारी अनुदान रकम अझै प्राप्त गरेका छैनन् । किसान सस्तैमा भए पनि उखु बेच्न बाध्य भएको अध्यक् मैनालीले बताए ।