बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भइ राष्ट्रिय परिचयपत्र छापिएर आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले वितरणको काम सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । विवरण पेस गर्दा प्राप्त गरेको रसिदसहित राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बरसहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाण पत्र हो । जिल्ला प्रशासन कार्यालय बझाङले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ । कार्यालयकाअनुसार सबैलाईसँगै वितरण गर्दा भीड हुने भएकाले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ ।