१५ मंसिर, शुक्रबार ।
नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे वीरगञ्ज र चितवन भिड्दैछन् । जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।
नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । वीरगञ्जले धनगढीविरुद्ध राम्रो प्रदर्शन गरे पनि नतिजामा भने सफल रहेन । त्यसैले दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् । दुवै टोलीमा गोलकिपर नै कप्तान र मार्की छन् । दुवैले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । चितवनको कप्तानी मार्की प्लेअर विशाल श्रेष्ठले गर्नेछन् ।
यस्तै राष्ट्रिय टिममा हाल दोस्रो रोजाईँको किपर रहेका दिप कार्कीले वीरगञ्जको कप्तानी गर्नेछन् । दुई खेलबाट चितवनको एक अंक छ र एक खेल खेलेको वीरगञ्ज अंकविहीन छ । छैटौँ स्थानमा रहेको चितवन र आठौँ स्थानको वीरगञ्ज आज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुने छन्