१५ मंसिर , शुक्रबार ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजोको निणर्यानुसार आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाइएको हो । पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ प्रतिलिटर घटाइको हो । मूल्य घटाइएपछि पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल एक सय ६९ रुपैयाँ र डिजेल एक सय ५९ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल एक सय ७० रुपैयाँ र डिजेल एक सय ६० रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट मंसिर १४ गते, बिहीबार प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य २.१२ रुपैयाँ तथा डिजेलको मूल्य ४.०९ रुपैयाँले घटेर आएको निगमको भनाइ छ । एलपी ग्यासको मूल्यमा भने प्रतिसिलिण्डर २१.१४ रुपैयाँले वृद्धि भइ प्रतिसिलिण्डर नोक्सानी ३०० रुपैयाँ पुगेको निगमको दाबी छ । तर आम उपभोक्ताको हितलाई मध्यनजर राख्दै खाना पकाउने ग्यासको मूल्य नबढाइएको निगमले जनाएको छ ।