२७ कात्तिक , सोमबार ।
रौतहटको चन्द्रनिगाहपुरमा आइतबार राति लुटेरा समूहको आक्रमणबाट २ महिला घाइते भएको छ । लुटपाट गर्ने क्रममा लुटेरा समूहले आक्रमण गर्दा २ जना महिला घाइते भएका हुन्।आइतबार राति ४ जनाभन्दा बढीको संख्यामा आएका लुटेराले चन्द्रपुर नगरपालिका वडा नं–५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। घरको मूलगेट फुटाएर प्रवेश गरेका उनीहरुले चौधरीकी पत्नी कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ। घाइते दुवैजना महिलाहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एकनारायण कोइरालाले बताए।