लक्ष्मीपूजाको दिन हिजो देशभरी विद्युतको उच्च माग १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले हिजो साँझ ६ बजे सबैभन्दा बढी विद्युत माग भएको बताएको छ । गत वर्षको तुलनामा १ सय ३३ मेगावाट बढी विजुली प्रयोग भएको प्राधिकरणले जनाएको छ । गत वर्ष कात्तिक ७ गते परेको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग १ हजार ३ सय ५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको माग औद्योगिक प्रयोजन बाहेकका ग्राहकको हो । उच्च माग भएकै समयमा पनि विद्युत पुर्याएर बचत भएको ५ सय १७ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ । ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।