आइसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा निर्धारित ओभरमा दुवै टिमले बराबरी रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकालिएको हो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो । २२ रनको लक्ष्यसहित ब्याटिङ गरेको नेपालले १ ओभरमा १० रन मात्र बनाउन सक्यो । यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाउँदै १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । उपाधि नजिते पनि नेपाल आउँदो जुन महिनामा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भइसकेको छ ।