सर्लाहीको बरहथवामा साप्ताहिक रुपमा गर्दै आएको सरसफाइ अभियानले ५० औँ हप्ता पनि बृहत सरसफाई कार्यक्रम गरेको छ । बरहथवा नगरक्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको अभियानले ५० औं हप्तामा शनिबार बरहथवा बजारमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बरहथवा, इलाका प्रहरी कार्यालय बरहथवा, अस्थायी ट्राफिक प्रहरी कार्यालय बरहथवा, शस्त्र प्रहरी बल सु.चु., बरहथवा नगर प्रहरी, बरहथवा नगरपालिकाका शिक्षा शाखा प्रमुख अनिल साह, वडा नम्बर ५,६ र ७ का वडा अध्यक्ष, युवा संजाल बरहथवा, वर्क प्लान नेपाललगायतका सहभागिता रहेको थियो । स्रोत साधनको अभावका बाबजुद अभियानले ५०औं हप्ता पूरा गरेकोमा कार्यक्रमका अतिथिहरुले युवाहरुलाई बधाई दिनुका साथै यस कार्यको सह्राहना गरेका थिए ।
त्यसैगरी बरहथवा सरसफाइ अभियानका अभियन्ताले ५० औं हप्तासम्मको अभियानमा युवाहरु निरन्तर जोसका साथ लागीपर्दा पनि सरोकारवाला निकायको पर्याप्त सहयोग नपाएको गुनासो गरे । अभियानका संयोजक विश्वनाथ महतोले बरहथवा नगरपालिकालाई सुन्दर र सफा बनाउने अभियानमा आफुहरु रहेको बताउँदै उद्देश्य पूरा नभएसम्म अभियान सञ्चालन गरिरहने बताए ।