१८ कात्तिक, शनिबार
जाजरकोट तथा रुकुम पश्चिममा गएरातिको भूकम्पमा परी घाइते भएकाको उपचारका लागि भेरी अस्पताललाई तोकिएको छ । भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेस्ठलाई समन्वयको जिम्मेवारी दिइएको छ । उहाँलाई ९८५११४३६६६ मा फोन गर्न सकिनेछ । कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड तयारी अवस्थामा राखिएको पोखरेलले जानकारी दिनुभयो । हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगत पनि मौज्दात रहेको जानकारी दिँदै अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मिको व्यववस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।