१७ कात्तिक, सुक्रबार ।
नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई आज ८ विकेटले हराउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । मूलपानी क्रिकेट मैदानमा आज यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै भेट्टायो । नेपालका आशिफ शेखले अविजित ६३ तथा कप्तान रोहितकुमार पौडेलले अविजित ३५ रन बनाउनुभयो । यस्तै गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रनको योगदान गर्नुभयो । टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाउनुभयो । नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिनुभयो । ३ ओभर बलिङ गरेका कुशलले ११ रन खर्चेर ३ विकेट लिनुभयो । यसैगरी, सन्दीपले ४ ओभरमा १४ र सोमपालले ३ ओभरमा १५ रन खर्चनुभयो । अबिनाश बोहोराले भने आज महङ्गो बलिङ गर्नुभयो । उहाँले ३ ओभरमा ३६ रन खर्चे पनि विकेट लिन सक्नुभएन । यस्तै करण केसीले पनि ३ ओभरमा २६ रन र गुल्सन झाले ३ ओभरमा २४ रन खर्चनुभयो तर विकेट लिन भने असफल हुनुभयो । छनोटको फाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमान फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुनेछ ।