१६ कात्तिक, बिहीबार
सरकारले संसदको जारी वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिनुभयो । हिजो सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा आज बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्नेलगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो । संसद अधिवेशन अन्त्यका लागि औपचारिक रुपमा पत्र प्राप्त नभए पनि अनौपचारिक रुपमा अधिवेशन अन्त्यको जानकारी आएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने, चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरूको सूचना सभाको स्वीकृतिको लागि पेश गर्नेलगायतका कार्यसूची रहनेबारे छलफल भएको प्रवक्ता गिरीले बताउनुभयो । एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसदको वर्षे अधिवेशन अन्त्य भए पनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने माओवादी प्रमुख सचेतक पाण्डेको भनाइ छ । आज बिहान ९ बजे मन्त्रीपरिषद्को बैठक राखिएको र सो बैठकले अधिवेशन अन्त्यको निणर्य लिनसक्ने सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सीआईएनलाई जानकारी दिनुभयो । बजेट अधिवेशनको रुपमासमेत रहेको वर्षे अधिवेशन यसअघि सामान्यत भदौ महिनामा सकिने भए पनि संसदमा विचाराधीन केही विधेयक पारित गर्नका लागि बैठक लम्बाइएको थियो ।