कोरोनाले प्रभावित बनेको मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) काअनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मनलगायतका देशका पर्यटक बढी मनास्लु क्षेत्रमा भित्रिएका हुन् । सन् २०२१ मा नौ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षको अवधिमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्याङ्कअनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।