१ कात्तिक, बुधबार
नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु भएको छ । नेपाल र यूएई २० महिनापछि टी-२० आईमा भिड्न लागेका हुन् ।
नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ । यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी-२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।
यूएईले भने टी-२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी-२० विश्वकप खेलेको थियो । त्यही टी-२० विश्वकप छनोटको तयारी स्वरुप भएको चारदेशीय टी-२० सिरिजमा पनि नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो । पछिल्लो समय लगातार वानडे क्रिकेट खेलिरहेको नेपाली टोली अब टी-२० फर्म्याटमा अभ्यस्त हुने प्रयासमा छ ।