३० असोज, मंगलबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीका अनुसार उनी मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आएर दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् । निजको साथबाट १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ फेला परेको छ । छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम करिब ३१ लाख ५० हजार रुपैयाँ बराबर हुन आउँछ ।