काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।
धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आइतबार कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन् । एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका विषय अनुमानका कुराहरु भएको टिप्पणी पनि गरे । आफूहरुबीच भएको सहमतिबारे कुरा खोल्ने बेला नआएको उनको भनाइ छ । अध्यक्ष नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि आफूहरुले आह्वान गरिरहेको भन्दै एजेन्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।