१४ कात्तिक, मंगलबार
इजरायलमा प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार थप २ जना नेपालीको शव पहिचान भएसँगै सबै नेपालीको शव फेला परेको हो । विज्ञप्ति जारी गर्दै राजदूतावासले सुनसरीका राजेशकुमार स्वणर्कार र धनुषाका आनन्द साहको शव पनि नेपाल पठाउनका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । राजदूतावासले बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिनेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव यसअघि नै नेपाल पठाइसकेको छ । डोटीका राजन फुलरा र पदम थापा अनि सल्यानका प्रवेश भण्डारीको शव पनि नेपाल आउन बाँकी छ ।