११ मंसिर, सोमबार ।
नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ । यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।