अनिता साह
१७ मंसिर , आइतबार ।
सर्लाहीको सदरमुकाम मलङ्वास्थित जिल्ला समन्वय समिति (जिविस) को भवनमा आज यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । आइतबार यातायात व्यवस्था कार्यालयको मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेस प्रदेश सभाका सदस्यहरू कौशलकिशोर राय, जङ्गिलाल राय र उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतले मन्तव्य राख्नुभयो । वक्ताहरूले मधेस प्रदेशका आठ जिल्लाहरुमध्ये सर्लाहीमा सातौ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय खुलेको प्रति खुसी व्यक्त गर्नुभयो ।
जिल्लामा यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन बिरगंज , गौर, बर्दिबास र जनकपुर लगायतका ठाउमा धाउनुपर्ने अवस्था थियो । तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको जिल्लाबासीको भनाइ रहेको छ ।
कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने कार्यालय प्रमुख राकेश यादवले जानकारी दिनुभयो ।
मलङ्गवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ । काठमाडौं पुगेर यातायात व्यवस्था विभागबाट युजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताउनुभयो । उहाँका अनुसार जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने बताउनुभयो ।