सर्लाही, माघ – जिल्लाको लालबन्दी नगरपालिका–१७, साहेवगञ्जमा नवनिर्मित महालक्ष्मी सिद्धपीठको प्राणप्रतिष्ठा यही माघ २३ गते, गुप्त नवरात्रको शुक्लाष्टमीका दिन गरिने भएको छ। पीठमा अष्टादश भुजा (१८ हात) युक्त, ७ फिट अग्ली महालक्ष्मी माताको श्रीविग्रह प्रतिष्ठित गरिएको छ।
सद्गुरुदेव कमल योगीको सान्निध्यमा हुने प्राणप्रतिष्ठा समारोहमा संपूर्ण धर्मानुरागी भक्तजनहरूलाई माताको दर्शन तथा प्रसाद ग्रहण गर्न आयोजक समितिले अनुरोध गरेको छ।
सद्गुरुदेव कमल योगीका अनुसार, महालक्ष्मी माता कुलदेवीका रूपमा यस पीठमा बिराजमान हुनुहुन्छ। मिथिला क्षेत्रको धार्मिक महत्त्व झल्काउने यो स्थल राजर्षि जनकको पवित्र भूमि रहँदै आएको र परापूर्वकालदेखि नै महान उपासकहरूको साधना केन्द्र रहेको उल्लेख गर्दै उनले पीठको ऐतिहासिक महत्त्वबारे प्रकाश पारे।
स्थानिय जयक्रिष्टर बाबुका अनुसार, नेपालकै सबैभन्दा अग्लो महालक्ष्मी श्रीविग्रह रहेको शक्तिपीठ भएकाले यसले सर्लाही जिल्लाको धार्मिक र सांस्कृतिक पहिचान अझ उचो बनाउने विश्वास गरिएको छ। उनले कर्मकी देवी, भाग्यकी देवी तथा ऐश्वर्यकी अधिष्ठात्री महालक्ष्मीको उपासना प्रत्येक मनुष्यको जीवनको लक्ष्य हुनुपर्नेमा जोड दिए।
माघ २३ गते हुने प्राणप्रतिष्ठा समारोहमा सहभागी भई पुण्य लाभ उठाउन आयोजकले सबै भक्तजनहरूलाई आग्रह गरेको छ।