बिद्यानन्द यादव
सर्लाही, माघ १० – सर्लाहीको सदरमुकाम मलङवा नजिकै रहेको भाडसर नाकाबाट पछिल्लो समय धान तस्करी तीव्र रूपमा बढिरहेको छ। भारतीय गाउँहरूबाट खरिद गरिएका धानलाई मोटरसाइकलमा २-३ बोरा लोड गरेर भाडसर नाकामा थुपार्ने र त्यसपछि ट्र्याक्टरमा लोड गरी सर्लाहीका इश्वरपुर, लालबन्दी लगायतका बजारका सेलर मिलहरूमा पुर्याउने काम भइरहेको स्थानीयहरूले बताएका छन्।
धेरै मात्रामा हुने यो तस्करीका कारण राज्यले लाखौं रुपैयाँको राजस्व गुमाइरहेको छ। भाडसर नाकाको नजिकै रहेको प्रहरी चौकी तस्करी रोक्न असफल देखिएको छ भने चौकीका सुरक्षाकर्मीहरूलाई मुकदर्शक बनेको आरोप लागेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, दिनमा ५-७ ट्र्याक्टर धान तस्करी गरेर भित्र्याइने गरेको छ। केही समयअघि सीमा सुरक्षाको जिम्मेवारीमा रहेका बीओपी शिवनगरका सशस्त्र प्रहरीहरूले चेकजाँच कडा गरे पनि अहिले त्यो काम लगभग सुन्य जस्तै भएको छ।
सशस्त्र प्रहरी उपरीक्षक विनोद थापाले धान तस्करी रोक्न हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि सीमा क्षेत्रबाट हुने तस्करी रोक्न प्रहरी परिचालन गर्ने बताउनुभएको छ।
तस्करीका कारण स्थानीय बजारहरूमा प्रतिस्पर्धा असमान बनेको र राजस्व क्षतिले जिल्लाको आर्थिक व्यवस्थामा नकारात्मक प्रभाव पारिरहेको भन्दै स्थानीय व्यवसायीहरूले तस्करी रोक्न कडा कदम चाल्न माग गरेका छन्।
सरकार र सुरक्षा निकायले चाँडै नै ठोस कदम नचाले धान तस्करीले अझै विकराल रूप लिन सक्ने अनुमान गरिएको छ।