६ मंसिर, बुधबार ।
प्रहरीको निःशुल्क १०० नम्बरमा अनावश्यक फोन नगर्न डडेल्धुरा प्रहरीले आग्रह गरेको छ । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने उक्त नम्बरमा अनावस्यक फोन गरेर दुःख दिने गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । डडेल्धुरा प्रहरीको १०० नम्बरमा दैनिक करिब ३० देखि ४० वटा फोन आउने गरेको र अधिकांस दुःख दिने नियतले गर्ने गरिएको प्रहरीले जनाएको छ । गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गरेको प्रहरी बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताउनुभयो । गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन १०० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउन सकिने डडेल्धुराका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले चेतावनी दिनुभयो ।