प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले युवा विद्यार्थी विदेश पलायन हुने क्रम बढ्दै जानु सवैभन्दा ठुलो समस्याको रूपमा रहेको बताउनुभएको छ । आज काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थीहरू विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठुलो समस्या युवा विद्यार्थीहरूको विदेश पलायन रहेको बताउनुभयो । उहाँले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने समेत बताउनुभयो ।