काठमाडौं, माघ ८ – निर्वाचन आयोगले “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक नयाँ राजनीतिक दल दर्ता गरेको छ। आयोगले पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गर्दै यसको चुनाव चिन्ह “ग्याँस सिलिण्डर” तोकेको छ।
पार्टीको झण्डा गाढा निलो रंगको आयाताकार हुनेछ, जसको मध्य भागमा तीर धनुष रहने व्यवस्था गरिएको छ। दल दर्ता नं. २०१ कायम गरिएको यस पार्टीले स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अवलम्बन गर्ने बताएको छ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशभरका आम जनतालाई पार्टीको सदस्यता ग्रहण गरी सक्रिय रूपमा सहभागी हुन हार्दिक अपील गरेका छन्। अध्यक्ष महतोका अनुसार पार्टीले जनताको अधिकार, स्वतन्त्रता, र समानताका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै देशलाई समृद्ध र न्यायपूर्ण बनाउने दिशामा अघि बढ्नेछ।
राष्ट्रिय राजनीतिमा नयाँ ढंगले सक्रियता देखाउने तयारीमा रहेको यस पार्टीको गठनले राजनीतिक वृत्तमा नयाँ चर्चा सिर्जना गरेको छ।