१२ कातिक, आइतबार ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदलगायतका उच्च पदस्थ अधिकारीले उहाँलाई स्वागत गरेका थिए । आज दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग गुटेरेसले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसलगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेपटि महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको आयोजनामा आजै हुने रात्रिभोजमा पनि उहाँ सहभागी हुनुहुनेछ । भोलि महासचिव गुटेरेस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बुको स्याङ्बोचे अवलोकन गर्न पुग्ने कार्यक्रम तय भएको छ । त्यसपछि काठमाडौँ फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा भाग लिएर महासचिव गुटेरेस पोखरा जानुहुनेछ । पर्सि पोखराबाट बिहान अन्नपूणर् सर्किट अवलोकनमा जानेभएपछि अन्नपूणर् गाउँपालिकाले पनि स्वागतको तयारी गरेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताउनुभयो । पर्सि नै लुम्बिनीबाट काठमाडौं फर्केर सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसका लागि तयारी भइरहेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालस्थित कुटनीतिक नियोगका अधिकारी, विभिन्न मुलुकका राजदूतलाई निमन्त्रणा पठाउने काम पनि भइरहेको छ । त्यसपछि संसद परिसरमै महासचिव गुटेरेसले पत्रकार सम्मेलन गर्नुहुनेछ भने यही कात्तिक १५ गते नेपालको चारदिने भ्रमण पूरा गरी फर्कनुहुनेछ । महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गएको सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।