राष्ट्रपति रामचन्द्र पौडेलले बिपत्तिको बेलामा सरकारप्रति भरोसा गर्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावितको अवस्था बुझ्न आज जाजरकोट बाराकोटको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको दुख परेका बेला आफुलाई सहयोग गर्ने कोही छैन भनेर नठानि हाम्रो सरकार छ भन्ने सोच्न आग्रह गर्नुभयो । अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था रहेकाले नागरिकलाई परेको दुःखमा सरकारसँधै नागरिकसँगै हुने उहाँको भनाइ छ । उहाँले अहिलेको विपदको समयमा आफुपनि प्रभावित नागरिकसँगै रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र राहत तथा क्षतिपुर्ति वितरणमा भेदभाव नगर्न आग्रह पनि गर्नुभयो । तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेतर्फ अहिले नै सोचेर काम थाल्न राष्ट्रपति पौडेलले आग्रह गर्नुभयो । भूकम्पपछि देशको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुणर्बहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, प्रदेश सांसद, प्रधान सेनापतिलगायत सहभागी हुनुहुन्छ ।