सर्लाहीको मलंगवामा सम्पन्न डिस होम करपोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन ३ को उपाधि राजश्री सेभिङ्ग कोअपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ।
बिहीवार सम्पन्न फाइनल खेलमा राजश्रीले कामना विकास बैंकलाई १ रनले पराजित गर्दै उपाधि प्राप्त गरेकाे हो।
टस जितेर पहिला ब्याटिङ गरेको राजश्री सेभिङ्गले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ४८ रन बनायो। प्रविण यादवले ३३ रनको उत्कृष्ट योगदान दिएर टिमलाई मजबुत स्थिति दिलाए। बलिङतर्फ कामना विकास बैंकका संजोग शर्माले २ विकेट लिए।
लक्ष्य पछ्याउँदै कामना विकास बैंकले ५ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन मात्र बनाउन सक्यो। अजय चौधरीले सर्वाधिक २८ रन बनाए पनि टिमलाई जित दिलाउन असफल भए। राजश्रीका बलर रजनिश यादवले २ विकेट लिएर टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजश्रीका प्रविण यादवलाई म्यान अफ द म्याच घोषित गरिएको छ।
प्रतियोगिताका आयोजक लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सुवाश गुप्ताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।