जनकपुरधाम, माघ २ – मधेश प्रदेशमा प्रदेश स्वास्थ्य प्रयोगशाला प्रमुखको सरुवा र त्यससँग सम्बन्धित विवादले राजनीतिक तनाव चुलिएको छ। यसै प्रकरणलाई लिएर बुधबार जनकपुरधाममा मुख्यमन्त्री सतिश कुमार सिंहको पुत्ला दहन गरिएको छ।
युवा संघको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले मुख्यमन्त्री सिंहमाथि आर्थिक चलखेल गरेको आरोप लगाउँदै टायर बालेर र मुख्यमन्त्री कार्यालय अगाडि पुत्ला दहन गरेका हुन्।
विरोधको मुख्य कारण प्रदेश स्वास्थ्य प्रयोगशाला प्रमुख कुमार मृत्युञ्जय प्रसादको सरुवा रहेको छ। युवा संघले उक्त सरुवालाई संविधान र ऐनविपरीत भएको भन्दै आपत्ति जनाएको छ। उनीहरूले सम्बन्धित मन्त्रालयसँग समन्वय नगरी गरिएको निर्णयलाई कानुनी र प्रशासनिक प्रक्रियाविपरीतको कदम भनेका छन्।
गत पुष २८ गते प्रमुख कुमार मृत्युञ्जय प्रसादकाे अनुपस्थितिमा नयाँ प्रमुख प्रदीप कुमार यादवले जबरजस्ती कार्यकक्ष कब्जा गरेको आरोप छ। कार्यालयका अन्य कर्मचारीहरूले पनि यस कदमको विरोध गर्दै निर्णयलाई अन्यायपूर्ण र गैरकानूनी भनेका छन्।
युवा संघका कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रलाई मिचेको र आर्थिक चलखेलका आधारमा निर्णय गरिएको आरोप लगाएका छन्। कर्मचारी युगल किशोर यादवका अनुसार मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवले आर्थिक लाभ लिएर यो सरुवाको आदेश जारी गरेको दाबी गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले मुख्यमन्त्री सिंहको कदमलाई असंवैधानिक र गैरजिम्मेवार भनेका छन्। उनीहरूले सरकारसँग स्पष्ट जवाफ माग गर्दै निर्णय खारेज गर्न माग गरेका छन्।
यस विवादले मधेश प्रदेशमा राजनीतिक वातावरणलाई अस्थिर बनाएको छ। प्रदर्शनकारीहरूले यो प्रकरणले सरकारको निष्पक्षतामा गम्भीर प्रश्न उठाएको बताएका छन्।