२० कात्तिक, सोमबार ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ सानो रतवाडामा हतियारधारी डाका समूहले लुटपाट गरेको छ । गएराति १ बजेतिर जयकिशोर चौधरीको घरबाट हतियारधारी समूहले सुन, नगद लगायत लुटपाट गरेको स्थानीयहरुले बताएको छ । चौधरीले आफ्नो घरबाट एक लाख रुपैयाँ नगद, ४० तोला बढी सुनका गरगहना, अढाइ किलो चाँदीका गहना, एक लाख ७५ हजार मूल्य बराबरको मोबाइल फोन समेत गरी ५० लाख बढी लुटपाट भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् डिएसपी दिलिप कुमार गिरीका अनुसार पीडितको उक्त दाबी पुष्टि हुन भने बाँकी छ । ‘चालिस तोला सुन लुटपाट भएको भनिए पनि हामी त्यसलाई भेरिफाइ गर्दैछौं,’ डिएसपी गिरीले भने । चौधरीको घरमा गएराति पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच जनाको समूहले परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिएर भान्छा कोठामा थुनेर लुटपाट गरेका थिए । सो क्रममा उनीहरुले घरका सदस्यहरुलाई कुटपिटसमेत गरेका थिए । जयकिशोर चौधरीका बुवा ६७ वर्षीय भुवनेश्वरको टाउकोमा चोट लागेको छ । घटना रातिको भए पनि आफूहरुले सोमबार बिहान चार बजेमात्रै लुटपाटको खबर पाएको डिएसपी गिरीले बताए । खबर पाएलगत्तै प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरीले सोमबार दिउँसो सवा दुई बजेसम्म लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । ‘लुटपाटमा संलग्नको खोजी गरिरहेका छौं,’ उनले भने डाँका समूहको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।