जनकपुर, माघ ३ / प्रदेशको नाम ‘मधेश’ नामकरणको उपलक्ष्यमा ‘मधेश नामकरण दिवस’ भव्य रूपमा समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा र समाजवादी युवा संघ धनुषाले मनाएका छन्।
जनकपुरधामको ऐतिहासिक जनक चौकमा आयोजित उक्त कार्यक्रममा समाजवादी विचारधाराका विभिन्न नेताहरू, युवाहरू, र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
उपस्थित नेताहरूले मधेश प्रदेशको नामकरणले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, र सामाजिक पहिचानलाई बलियो बनाएको उल्लेख गरे। युवाहरू र विद्यार्थीहरूले मधेश नामकरणको ऐतिहासिक पृष्ठभूमि, यसको महत्व, र पहिचानसँग जोडिएका विषयहरूमा प्रकाश पारे। साथै, मधेशको पहिचान र अधिकारका लागि जनतामाझ जनचेतना फैलाउनका लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका क्रममा स्थानीय युवा र विद्यार्थीहरूले मधेशको गौरवलाई अझ सशक्त बनाउन एकताबद्ध भई अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। उपस्थितहरूले यस्तो दिवसले मधेशी जनताको भावना र पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
‘मधेश नामकरण दिवस’ मधेशी जनताको पहिचान र गौरवको प्रतीक बनेको भन्दै सहभागीहरूले यसलाई वार्षिक रूपमा मनाउने संकल्प गरेका छन्।
कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामअशिष यादव, केन्द्रीय सदस्य लालकिशाेर साह, प्रदेश अध्यक्ष बालकिसोर प्रसाद यादव, प्रदेश सदस्य रामो महरा, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष रामशंकर पासमानलगायत नेताहरूको विशेष सहभागिता रहेको थियो।