१४ कात्तिक, मंगलबार
तनहँुमा किसानहरूले लगाएको मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । लगाएको बाली सबै भित्र्याउन नपाउँदा पछिल्लो समय मकै खेती गर्नेको सङ्ख्यासमेत घट्न थालेको छ । देवघाट गाउँपालीका वडा नम्बर ५, तनहुँका इन्दिरा सापकोटाले खेतमा लगाएको मकै, कोदोलगायतका बाली बाँदरले खाइदिने गरेपछि कुनै समय १० रोपनीमा मकै र कोदो लगाउने गरिए पनि हिजो आज १ रोपनी क्षेत्रफलमा मात्र खेती गरिरहेको जानकारी दिनुभयो । देवघाट गाउँपालीका वडा नम्बर ५ क्षेत्रका किसानलाई बादर र मृगबाट मकै बाली कसरी जोगाउने भन्ने चिन्ता छ । मकै, धान, कोदो, गहुँजस्ता बाली बाँदरले सकेजति खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका छन् । बाँदरलाई बस्ती पस्न नदिन विभिन्न उपाय अपनाउँदा पनि समस्या समाधान हुन नसकेको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले बताउनुभयो । बाँदरले पूरै बाली सखाप गरिदिएपछि वन जङ्गल नजिकका जग्गामा कतिपयले खेती लगाउनै छाडेका छन् ।