घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ । नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जितका साथ सेमिफाइनल खेल्ने एक्लो टोली बनेको हो । जितका लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अल आउट भयो । भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ चौथो स्थानमा रहँदै सेमिफाईनलमा पुग्यो । भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग खेल्नेछ । १६ नोभेम्बरमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।