सप्तरी, माघ १० – प्रेस मञ्च नेपालका उपमहासचिव, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा एभिन्युज टेलिभिजनका संवाददाता वैधनाथ यादवको पक्राउले विभिन्न पक्षको गम्भीर ध्यानाकर्षण भएको छ। माघ ९ गते सप्तरी प्रहरीले उनलाई पक्राउ गरेपछि पत्रकारिता क्षेत्रमा विरोधका स्वरहरू उठेका छन्।
स्वास्थ्य अवस्थामा समस्या देखिएपछि यादवलाई प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा गरिएको छ। उनी केही समयदेखि बिरामी थिए, जसका कारण हिरासतमा रहँदा स्वास्थ्य समस्या थप गम्भीर बनेको थियो।
प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादवले यस घटनाप्रति चासो व्यक्त गर्दै यादवको रिहाइमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन्। विज्ञप्ति जारी गर्दै उनले निष्पक्ष छानबिन र कानुनी प्रक्रियामा कुनै पक्षपात नहुने सुनिश्चित गर्न आग्रह गरे।
यादवलाई राजनैतिक षडयन्त्रका आधारमा फसाउन खोजिएको दाबी गर्दै अध्यक्ष यादवले भने, “वैधनाथ यादवमाथि पछिल्लो समयमा षडयन्त्र भइरहेको प्रस्ट छ। सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीहरूले यसबारे पुष्टि गर्छ। दोषीलाई कारबाही गर्नुपर्छ तर निर्दोषलाई फसाउन हुँदैन।”
प्रेस मञ्च नेपालले राज्यका निकायहरूलाई राजनैतिक प्रभावबाट बच्न र निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ। साथै, नेपाल पत्रकार महासंघलाई यस विषयमा पहलकदमी लिन अनुरोध गरिएको छ।
कार्यवाहक अध्यक्ष यादवले बिरामी उपमहासचिव वैधनाथ यादवको स्वास्थ्य लाभको कामना गर्दै, राज्यका निकायहरूलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन अपिल गरेका छन्।